कान्छो जीबन बीमा कम्पनीको सेवा आइतबार देखि , यस्ता छन् बीमा योजना

bikashnirman | माघ २४, २०७५ - बिहिबार


काठमाडौँ  । देशको सबैभन्दा कान्छो अर्थात् १९औँ जीवन बीमा कम्पनीका रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले यही माघ २७ गते आइतबारदेखि कारोवार सञ्चालन गर्ने भएको छ ।  राजधानीमा पत्रकार सम्मेलन गरेर कारोवार शुभारम्भको घोषणासँगै कम्पनीले तीन आकर्षक बीमा योजना बिक्री गर्ने जनाएको छ ।

राष्ट्रिय बीमा समितिबाट स्वीकृतिअनुरुप कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी आवधिक बीमा योजना बिक्री गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताउनुभयो ।

यस्ता छन् बीमा योजना

महालक्ष्मी डबल आवधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्तिपछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ , लगानी फिर्ता म्यादी बीमा योजनामा बीमा शुल्क भुक्तानीपछि तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्तिपछि जम्मा गरेको बीमा शुल्क जस्ताको त्यस्तै फिर्ता गरिने योजना  कम्पनिको  छ  ।

त्यसैगरी महालक्ष्मी आवधिक बीमा योजनाअन्तर्गत न्यूनतम बीमा शुल्कमा सुरक्षा पाइने, बचत हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने व्यवस्था मिलाइएको कार्यकारी अधिकृत  भट्टराईले  जानकारी दिनुभयो । कम्पनीले यही माघ महीनाभित्रै काठमाडौँ, वीरगञ्ज र पोखराबाट कारोवार थाल्ने तथा इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो सातामा कारोवार सञ्चालन गर्ने जनाएको छ । कम्पनीकोे चुक्ता पूँजी रु दुई अर्ब छ भने संस्थापकबाट रु एक अर्ब ४० करोड चुक्ता भइसकेको छ । कम्पनीले भने रु ६० करोड सर्वसाधारणका लागि छुट्याइएको बताइको छ ।

Comment from facebook

Top