साना उद्योगहरुको क्षमता बढाउन सहज वित्तीय पहुँच आवश्यक

bikashnirman | पुस २०, २०७५ - शुक्रबार


काठमाडौं । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगहरुको क्षमता बढाउन सहज वित्तीय पहुँच आवश्यक भएको सरोकारवालाहरुले जोड दिएका छन् । साना उद्योगहरुलाई गतिशील बनाउन सके मात्रै मुलुकमा भयावह बन्दै गएको व्यापारघाटा न्यूनीकरण गर्न सकिने उनीहरुको भनाई थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसिएसआई) र एनएमबी बैंकको सहकार्यमा राजधानीमा आयोजित लघु, घरेलु तथा साना उद्यमीहरुको वित्तीय पहुँच अभिबृद्घिका लागि वित्तीय साक्षरताविषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको आर्थिक पाटोलाई समृद्घ बनाउन मुख्य भूमिका निर्वाह गर्ने साना उद्योगको क्षमता नै सहज बैंकिङ पहुँचसँग जोडिएको बताउनुभयो । उद्यमीलाई कसरी प्रोत्साहन गर्ने र बैंकसँग कसरी सहज पहुँच बनाउने भन्ने कुराको समाधानका लागि कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । साना उद्योगीहरुको हकहित संरक्षणका लागि महासंघको स्थापना भएको बताउँदै अध्यक्ष सिंहले भन्नुभयो–‘उद्योगीहरुका लागि विभिन्न खालका सहुलियत र सुविधायुक्त बैंकिङ योजना छन् त्यसका बारेमा हाम्रा धेरै उद्योगीहरुलाई थाहा छैन, यस्तै कुराको विस्तृत जानकारी दिन वित्तीय साक्षरता कार्यक्रम शुरु गरेका हौं ।एनएमबी बैंकका प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरेले बैंकले बैंकले लघु, घरेलु तथा साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ लगानी गरिरहेको बताउँदै व्यवसायी र व्यवसाय अनुशासित भएमा बैंकबाट लगानीको समस्या नहुने बताउनुभयो ।

कार्यक्रममा लघु, साना तथा मझौला उद्यमहरुलाई आर्थिक स्रोत सुनिश्चित गर्ने र स्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रमबाट सहभागी उद्योगीहरुले प्रभावकारी आर्थिक निर्णयहरु लिन सक्षम हुने आयोजक पक्षको विश्वास रहेको छ ।

 

Comment from facebook

Top