नेपाली वायुसेवालाई चिनियाँ भूमिमा सहज प्रवेशका लागि सहजीकरण गर्ने चिनिया मन्त्रीले दिए आस्वासन

bikashnirman | कार्तिक २७, २०७५ - मङ्लबार


काठमाडौँ  ।  नेपालको पर्यटन प्रवद्र्धनमा चीन सरकारले धेरैभन्दा धेरै आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न अभिप्रेरित गरि नेपाल  सरकारले घोषणा गरेको पर्यटन  वर्ष  सफल  बनाउन सहयोग गर्ने चिनिया  पर्यटन मन्त्रीले  आश्वाशन दिएका छन्  ।     नेपाललाई प्रमुख गन्तब्यको सूचीमा समावेश गरेर चीनले वर्षौंअघिदेखि सघाउँदै आएको छ । सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत सुमधुर रहेको नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले नेपालको चार दिवसीय भ्रमणमा रहनुभएका चीनका संस्कृति तथा पर्यटनमन्त्री लु सङ्गेङले पर्यटकीय पूर्वाधार बनाएर सघाउने  समेत बताउनुभएको छ  ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग मंगलबार पर्यटन मन्त्रालयमा भएको छलफलमा चिनियाँ पर्यटनमन्त्री लुले नेपालको पर्यटन प्रवद्र्धनमा चिनियाँ सहयोग अभिवृद्धिबारे चासो व्यक्त गर्नुभएको थियो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पर्यटनमन्त्री अधिकारीले नेपालको पर्यटन प्रवद्र्धनमा चीनले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्न दुवै पक्षले अपनाउने रणनीतिबारे छलफल भएको बताउनुभयो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि हँुदै गएको छ ।
पर्यटन मन्त्रालको ‘नेपाल टुरिजम स्टाटिटिक्स–२०१७’ का अनुसार एक लाख ४६ हजार ६४ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०१६ मा एक लाख चार हजार, सन् २०१५ मा ७७ हजार ९८४,सन् २०१४ मा एक लाख २३ हजार ८०५ र सन् २०१३ मा एक लाख १३ हजार १७३ चिनियाँ पर्यटक नेपाल आए ।
नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१८ को नौ महीनामा एक लाख २१ हजार ३७८ चिनियाँ पर्यटक आएका छन् । सोही अवधिमा सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटन बोर्डले पनि चिनियाँ भाषामा वेबसाइट बनाएर प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ । बोर्डको अभियानलाई मन्त्री लुले प्रशंसासमेत गर्नुभयो ।  भेटका क्रममा नेपाली वायुसेवालाई चिनियाँ भूमिमा  सहजरुपमा प्रवेशका लागि सहजीकरण गर्ने सम्बन्धमा पनि दुई पक्षीय सकारात्मक कुराकानी भएको छ ।
पर्यटनमन्त्री अधिकारीका अनुसार नेपाली जहाज चिनियाँ भूमिमा जाने सन्दर्भमा आफ्नो विभागीय मन्त्रालय नभए पनि सहजीकरणका लागि जोडदार कुरा उठाउने चिनियाँ पर्यटनमन्त्रीले वचन दिनुभएको छ ।

Comment from facebook

Top