काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग निर्माणमा पावर चाइना कम्पनीले देखायो चासो

bikashnirman | भदौ २२, २०७५ - शुक्रबार


काठमाडौँ  ।    नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावर चाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग परियोजनाका लागि परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा संचालन व्यवस्थापनको निमित्त  संयुक्त विकास सम्झौर्ता  सम्पन्न भएको छ ।
पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५% सम्म लगानी गर्ने सहमती गरेको छ । साथै पावरचाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको छ ।
नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेर तथा विगत ३० महिनादेखि पटक पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावरचाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव समेत पेश गरि सकेको छ । पुनरावलोकन पश्चात यस परियोजनामा सडकको कूल लम्वाई मध्ये ४४% सुरुङ्ग तथा पुलले ओगट्ने छ । जसका कारण यो आयोजना अझै भूगर्भ मैत्री रहने विश्वास कम्पनीले लिएको छ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले  यो  प्रविधि नेपालको कठिन पहाडि क्षेत्रका सडक पूर्वाधार निर्माणको क्षेत्रमा नयाँ युगको थालनी हुने  जनाएको  छ ।
सन् २०१५ डिसेम्वरदेखिको लगातारको आपसी छलफल तथा विचार विमर्शको परिणाम स्वरुप नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले पावरचाइनासँग २०१७ मे मा चीनको बेइजिङ्गमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनको अवसरमा हस्ताक्षर गर्न सफल भएको थियो ।
विश्व प्रसिद्ध पावरचाइना कम्पनीको सिनो हाइड्रो लगायत ९८ वटा सहायक कम्पनीहरु रहेका छन । पावरचाइना सिनो हाइड्रो मार्फत नेपालमा विगत ३० वर्ष देखि जल विद्युत तथा भौतिक पूर्वाधार निर्माण कार्यमा संलग्न रहेको छ ।
नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र पावरचाइना कम्पनीबीच भएको उक्त सम्झौतापत्र नेपाल सरकार भौतिक योजना तथा यातायात मंत्रालय र प्रदेश नं. ३ को सरकार समक्ष पेश गरि सकेको छ । साथै यस परियोजनामा केन्द्रिय सरकार र प्रादेशिक सरकारको पूर्ण सहयोग र समर्थन रहने विश्वास कम्पनीले लिएको छ ।

Comment from facebook

Top