घरजग्गा व्यवसायको वृद्धिदर लगभग स्थिर

bikashnirman | जेष्ठ ५, २०७५ - शनिबार


काठमाडौँ   । यो वर्ष घरजग्गा व्यवसायको वृद्धिदर लगभग स्थिर रहने एक सरकारी प्रतिवेदनले देखाएको छ । जमिनको खण्डीकरण रोक्न सरकारले नयाँ कित्ताकाटमा रोक लगाएको, राष्ट्र बैंकले यो क्षेत्रमा प्रवाह हुने कर्जामा कडाइ गरेको र लगानीयोग्य रकम नभएको भन्दै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह रोकेपछि चालु आर्थिक वर्ष घरजग्गा व्यवसायको वृद्धिदर स्थिर हुने देखिएको हो । केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार यो वर्ष रियल इस्टेट, रेन्टिङ तथा व्यावसायिक गतिविधि क्षेत्रको वृद्धिदर ५.२४ प्रतिशत रहनेछ । गत वर्षको सोही अवधिको तुलनामा यो ०.४३ प्रतिशत विन्दुले कम हो ।

 गत आर्थिक वर्ष यो क्षेत्रको वृद्धिदर ५.६७ प्रतिशत थियो । सहरी क्षेत्रमा घरजग्गाको कारोबारमा आएको बढोत्तरी तथा व्यावसायिक कारोबारमा आएको सामान्य वृद्धिले यस क्षेत्रको वृद्धिदर सकारात्मक रहे पनि गत वर्षको तुलनामा वृद्धिदर लगभग स्थिर रहने विभागले जनाएको छ । यसअघि सन् २००७/०८ मा विश्वव्यापी आर्थिक मन्दीका कारणले सुस्ताएको यो क्षेत्र त्यसपछिका वर्षहरूमा विस्तारै सुधार हुँदै गएको छ । सोही क्रममा गत वर्ष (आर्थिक वर्ष ०७३/७४ मा) यस्तो वृद्धिदर एक दशकयताकै उच्च बनेको थियो ।
 तर, चालु आर्थिक वर्ष यस्तो वृद्धिदरमा अघिल्ला वर्षहरूमा जस्तो बढोत्तरी नआउने विभागको अनुमान छ ।
 घरजग्गा क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) पुर्‍याउने योगदानमा भने चालु आर्थिक वर्ष सुधार आउने देखिएको छ । गत वर्ष जीडीपीमा यो क्षेत्रको योगदान ११.०९ प्रतिशत रहँदै आएकामा यो वर्ष बढेर ११.३७ प्रतिशत पुग्ने विभागको अनुमान छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले घरजग्गा कर्जामा केही कडाइ गरेको छ । यसकारण पनि घरजग्गा व्यवसाय अपेक्षित रूपमा फस्टाउन नसकेको विज्ञहरू बताउँछन् । ‘उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह बढोस् र सट्टेबाजी क्रियाकलापमा वित्तीय साधन केन्द्रित नहोस् भन्ने उद्देश्यले रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात काठमाडौं उपत्यकाका लागि ५० प्रतिशतबाट बढीमा ४० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ,’ राष्ट्र बैंकबाट जारी भएको एक निर्देशनमा भनिएको छ ।
गत वर्षको तुलनामा यो वर्ष घरजग्गा रजिस्ट्रेसनबापतको राजस्व संकलनमा पनि कमी आउने देखिएको छ । अघिल्लो वर्ष घरजग्गा रजिस्ट्रेसनबापतको राजस्व संकलन ४०.२ प्रतिशतले बढेकामा यो वर्ष ३९.८ प्रतिशतले मात्र बढ्ने देखिएको छ ।
 ‘समीक्षा वर्षमा घर/भवन नक्सा पास संख्यामा ३२.४ प्रतिशतले वृद्धि भएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘गत वर्ष यस्तो संख्यामा ४८.६ प्रतिशतले वृद्धि भएको थियो ।’ क्षेत्रगत रूपमा विश्लेषण गर्दा काठमाडौं, पोखरा र धनगढी क्षेत्रमा घर/भवन नक्सा पास संख्यामा क्रमश: ३.३ प्रतिशत, ९.९ प्रतिशत र १८.२ प्रतिशतले कमी आएको राष्ट्र बैंकको तथ्यांक छ ।
यसैगरी गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ११.३ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा करिब २१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
 गत फागुनसम्म ओभरड्राफ्ट कर्जा ११.३ प्रतिशतले बढेको छ । जसमध्ये व्यक्तिगत ओभरड्राफ्ट शीर्षकमा प्रावह भएको धेरै रकम घरजग्गामा गएको राष्ट्र बैंकले सार्वजनिक रूपमा बताउँदै आएको छ । (www.kantipurdaily.com)

Comment from facebook

Top