त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा संचालन गरिदै

bikashnirman | जेष्ठ १, २०७५ - मङ्लबार


काठमाडौँ  । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  यही जेठ  सात गते देखि दैनिक २१ घण्टा संचालन गर्न लागिएको छ  ।  पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । मन्त्री अधिकारीको १०० दिने कार्ययोजनाको उच्च प्राथमिकता परेको यो कार्यलाई सफल तुल्याउन सरोकार भएका निकाय तथा विज्ञहरुसँग मन्त्री अधिकारीले  छलफल गरिसक्नुभएको छ ।
विमानस्थल २१ घण्टा सञ्चालनको आवश्यक तयारीबारे नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उच्च पदाधिकारी, विमानस्थल व्यवस्थापन तथा प्राविधिक लगायत क्षेत्रमा काम गर्ने सबै निकायका कर्मचारीसँग आज अन्तरक्रिया गरी मन्त्री अधिकारीले विमानस्थललाई चुस्त, दुरुस्त बनाउन आग्रह गर्नुभयो ।
विमानस्थलको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि सबै किसिमको तयारी भएको उल्लेख गर्दै मन्त्री अधिकारीले सेवालाई प्रभावकारी बनाउन थप जनशक्ति व्यवस्थापन तथा सेवा सुविधामा कुनै कमी हुन नदिन क्यानको ध्यानाकर्षण गराउनुभयो ।
क्यानका महानिर्देशक सञ्जीव गौतमले जेठ ७ गतेदेखि विमानस्थललाई २१ घण्टा सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति व्यवस्थापन लगायतका सबै तयारी भएको जानकारी दिनुभयो । सुरक्षा निकायलगायत विमानस्थलका साझेदार सबै निकायसँग समन्वय गरी सेवालाई चुस्त र प्रभावकारी बनाउने तथा भविष्यमा आवश्यक पर्ने जनशक्तिको समेत व्यवस्थापनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको उहाँले उल्लेख गर्नुभयो ।

Comment from facebook

Top