नुवाकोटको बेलकोट नगरपालिकामा युएनडिपीले बनायो स्वास्थ्य चौकी,कोरीया सरकारकोे सहायता

bikashnirman | बैशाख १२, २०७५ - बुधबार


नुवाकोट   ।  २०७२ बैशाख १२ गते  गएको   महाभूकम्पपछि सुरु गरिएको पुनर्निर्माण कार्य अन्र्तगत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला स्वास्थ्य समिति तथा स्वास्थ्य व्यवस्थापन समितिसँगको साझेदारी र गणतन्त्र  कोरीया सरकारकोे सहायतामा नुवाकोट जिल्लाको बेलकोट नगरपालिकामा निर्माण गरेको स्वास्थ्य चौकीको आज उद्घाटन भएको छ ।

यो स्वास्थ्य चैकी सहीत युएनडिपीले कोरीया सरकारकोे सहायतामा नुवाकोट जिल्लामा थप ९ वटा आधुनिक, भुकम्प प्रतिरोधात्मक र अपांगमैत्री स्वास्थ्य चैकीको निर्माण गरीरहेको छ । यी संरचनाहरु ३० वर्षभन्दा लामो समय संचालनमा रहने र यसबाट २८ हजारभन्दा अधिक जनसंख्या प्रत्यक्ष लाभन्वित हुने अपेक्षा गरिएको छ ।

बालकोट नगरपालिकामा निर्माण सम्पन्न गरिएको यस भूकम्प प्रतिरोधात्मक र अपांगमैत्री स्वास्थ्यचौकीबाट स्थानीयवासीले साधारण स्वास्थ्य सेवा र प्रसुती सुविधा प्राप्त गर्नेछन् । अस्पतालको सुरक्षित फोहर व्यवस्थापनको महत्व ध्यानमा राखेर सबै अस्पतालहरु फोहर व्यवस्थापन प्रणालीद्वारा सुसज्जित हुनेछन् । सन् २०१६ सेप्टेम्बर १४ मा नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच भएको सझौताअनुसार सञ्चालन गरिएको नुवाकोट जिल्लामा विपद्पछिको स्वास्थ्य सेवा पुनस्थापना कार्यक्रमक अन्र्तगत १० वटा स्वास्थ्य चौकी र विदुर नगरपालिकामा ५० शैयाको त्रिशुली अस्पताल कुल ८.६ मिलियन अमेरिकी डलर (रु ८६ करोड)मा निर्माण हुन लागेको हो ।

आज एक समारोहबीच नेपालका लागि कोरिएन राजदूत एच.इ. पार्क, योङ—सिक, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले संयुक्तरुपमा नव निर्मित वेलकोट स्वास्थ्य चौकी को उदघाटन तथा त्रीशुली अस्पतालको शिलान्यास गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री पद्माकुमारी अर्यालले निर्माण सम्पन्न स्वास्थ चौकी तथा आजै शिलान्यास गरिएको अस्पतालको निर्माणले नुवाकोवासीलाई सुगम र गुणस्तरीय स्वास्थ सेवा उपलव्ध गराउन सहयोग गर्ने वताउनुभयो । “स्वास्थ उपचार सुलभ बनाउन आवस्यक संरचनाको निर्माण र सुधारको साथसाथै, हामिले स्वस्थ रहन र रोग बाट टाढै रहन हाम्रा खानपान, वानि व्यवहारमामा पनि सुधार ल्याउन आवस्क जनचेतना र स्वस्थ्य शिक्षामा पनि जोड दिनु आवस्यक छ” । समारोहलाई संक्षिप्त सम्बोधन गर्दै राजदूत एच.इ. पार्क, योङ—सिक ले कोरिया सरकारले कोइकामार्फत नुवाकोट जिल्लामा विपद्पछिको पुननिर्माण कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले यसबाहेक पनि नेपाल सरकारलाई स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको साथै मानव संशाधनको क्षमता अभिवृद्धिमा सहयोग गरेको जानकारी दिनुभयो । युएनडिपीका राष्टिय उपनिर्देशक सोफिया केमखाजेले भूकम्प प्रभावित क्षेत्रका समुदायका लागि उत्थानशील निर्माण गर्न स्थानीय समुदायको सहभागिता, क्षमता अभिवृद्धि र जीविकोपार्जनमा सुधारमा जोड दिएको बताउनुभयो । सो अवसरमा कोइकाका राष्ट्रिय निर्देशक डा किम हेयुङ्यो बालकोट र विदुर नगरपालिकाका मेयर, अस्पतालका मेडिकल सुपरीटेण्डेट र त्रिशुली अस्पतालका अध्यक्षले पनि मन्तव्य व्यक्त गर्नुभयो । समारोहमा नुवाकोडका विभिन्न स्थानीय तहका पदाधिकारी, विभिन्न दातृ निकाय(जिएनआई, जिआइजेड)का प्रतिनिधि र स्थानीय वासिन्दाको उपस्थिति थियो ।

Comment from facebook

Top