काम गरिखाने शिक्षा हो प्राविधिक शिक्षा

bikashnirman | माघ ७, २०७४ - आइतवार


 


पुष्परमण वाग्ले,
सदस्यसचिव, प्राविधिक तथा
व्यवसायिक शिक्षा परिषद् (सिटिइभिटी)

वि. सं २०४५ सालमा प्राविधिक शिक्षा प्रदान गर्न स्थापना भएको प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी)ले हालसम्म थुप्रै प्राविधिक जनशक्ति उत्पादन गरिसकेको छ । दक्ष जनशक्ति उत्पादन गरी देश विकासको लक्ष्यसमेत राखेर स्थापना गरिएको यस संस्थाले प्रतिवर्ष एक लाखभन्दा बढी जनशक्ति उत्पादन गर्दै आएको छ । नेपालमा विकास नहुनुको पछाडि दक्ष जनशक्तिको समेत अभाव रहेको भनिए पनि यस्ता जनशक्ति ठूलो संख्यामा बाहिरी मुलुकमा काम खोज्दै जानु परेको छ । नेपालमा व्यावसायिक शिक्षाको अवस्था, सिटिइभिटीको भूमिका आदिका सम्बन्धमा सिटिइभिटीका सदस्यसचिव पुष्परमण वाग्लेसँग गरिएको कुराकानी ः

प्राविधिक तथा व्यावसायिक शिक्षा भन्नाले केलाई बुझिन्छ ?
शिक्षा विशेषतः दुई प्रकारका हुन्छन् । ‘गरिखाने शिक्षा’ र ‘बोलीखाने शिक्षा’ । प्राविधिक शिक्षा गरिखाने शिक्षाअन्तर्गत पर्छ । प्राविधिक शिक्षाबारे धेरैले सुनेका हुन्छन् तर राम्रोसँग बुझेका हुँदैनन् । वास्तवमा प्राविधिक शिक्षा भनेको प्रयोगात्मक अभ्यासद्वारा लिइने शिक्षा हो । यो पूर्णतया सीपमूलक र व्यावहारिक हुन्छ । देशको आर्थिक र सामाजिक विकासका लागि प्राविधिक शिक्षा महत्वपूर्ण हुन्छ । त्यसकारण पनि प्राविधिक शिक्षातर्फ बढ्दो आकर्षण छ ।
प्राविधिक शिक्षा प्रदान गर्न स्थापना गरिएको सिटिइभिटीले हाल कस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
हामीले हालसम्म तीनओटा प्राविधिक शैक्षिक कार्यक्रम चलाउँदै आएका छाँै । जसमा आवश्यकता अनुसारको छोटो तथा लामो अवधिको तालिम, टिएसइई र डिप्लोमा तहका कार्यक्रमहरु छन् । आवश्यकताअनुसारको तालिम सामान्यतया तीन महिनाको हुन्छ । गरिब, दलित, विभिन्न खालका सेवासुविधाबाट वञ्चित, उच्च शिक्षा लिन नपाएका विद्यार्थीहरुका लागि यो कार्यक्रम लक्षित गरिएको छ । टिएसइई अन्तर्गत १८ महिनाको कोर्ष हुन्छ । जसमा २० ओटा विषयहरुमा छानीछानी पढ्न पाइन्छ । डिप्लोमा कोर्सका लागि तीन वर्ष लाग्छ । यसमा स्वास्थ्य, इन्जिनियरिङ, कृषि र अन्य क्षेत्र समेटिएका छन् । यसअन्तर्गत अहिलेसम्म २८ ओटा विषय सञ्चालनमा छन् । सिटिइभिटीको आफ्नै ३४ वटा र निजी क्षेत्रका ५ सयभन्दा बढी शैक्षिक संस्थाहरुमार्फत हाल प्राविधिक शिक्षा प्रदान गरिँदै छ । निजी क्षेत्रले मात्र ७० प्रतिशत भन्दा बढी योगदान पु¥याएको छ ।
कमजोर तथा न्युन नम्बर ल्याउनेले मात्र प्रबिधिक शिक्षा अध्यायन गर्ने हाम्रो मानसिकता छ नि ?
पहिले राम्रो नम्बर ल्याउने प्राविधिक शिक्षामा जान्थे । अहिले न्यूनतम गे्रड आउनेले मात्र प्राविधिक शिक्षा लिने हो भन्ने धारणा छ । यो एकदमै गलत धारणा हो । राम्रो ग्रेड आउनेले पनि प्राविधिक शिक्षा लिन सक्छन् । आफूमा सीप विकास गर्न र स्वरोजगार बन्न यो शिक्षा निकै लाभदायी छ । नेपालको मात्र नभई विश्वकै माग प्राविधिक शिक्षाको छ तर नेपालमा यो मानसिकताबाट हामी झन
उल्टो बाटो हिँडनुजस्तै हो । विकसित
मुलुकमा हेर्ने हो भने विश्वविद्यालयको शिक्षाभन्दा यस्तो किसिमको शिक्षालाई बढी महत्व दिएको पाइएको छ ।
जुन लक्ष्य र उद्देश्यका साथ सिटिइभिटीको स्थापना गरिएको थियो सो लक्ष्यअनुसार काम भएको छ कि छैन ?
सिटिइभिटीको मुख्य उद्देश्य नै दक्ष प्राविधिक जनशक्ति तयार गरी आर्थिक र सामाजिक विकास गर्नेु नै हो । हालसम्म नेपालमा प्राविधिक शिक्षा लिनेमा करिब ७० प्रतिशतले रोजगारी प्राप्त गरेको अवस्था पनि छ । प्राविधिक शिक्षा भनेको मूलतः काम गरिखाने शिक्षा भएकाले समाजले जबसम्म काम गरी खाने व्यक्तिलाई इज्जत र सम्मानका साथ हेर्दैन तबसम्म हामीले लिएको लक्ष्य पूरा हुन सक्दैन । त्यसैले, सिटिइभिटी भनेको राज्यको एउटा सानो संस्था मात्र हो प्राविधिक शिक्षालाई उपयोगी बनाउन राज्यले पनि थप भूमिका खेल्न जरुरी छ । प्राविधिक शिक्षा लिएकाले रोजगारी साथै केही न केही गर्ने वातावरण भएमा मात्र यसप्रति आकर्षण बढ्ने मात्र होइन, यसले लिएको लक्ष्य पनि पूरा हुन्छ ।
नेपालमा प्रबिधिक शिक्षा महँगो छ , यसका कारण के होला ?
प्राविधिक शिक्षा केही महँगो छ र विभिन्न कारण हुन्छ पनि । खास गरी प्राविधिक शिक्षा सरकारले निःशुल्क दिनुपर्ने हो तर नेपालमा यो हुन सकिरहेको छैन । ७० प्रतिशतभन्दा बढी प्राविधिक जनशक्ति निजी क्षेत्रबाट उत्पादन हुने गर्छन् । निजी क्षेत्र भन्नेबित्तिकै केही महँगो त हुने नै भयो । सिटिइभिटीअन्तर्गतका संस्थाहरुमा त निकै सस्तो शुल्क रहेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिको पनि हामीले व्यवस्था गरेका छौँ । यो वर्ष वैदेशिक रोजगारीका क्रममा अंगभंग भएका व्यक्तिका छोराछोरी १२५ जनालाई बैदेशिक रोजगार प्रबद्र्धन बोर्डमार्फत निःशुल्क अध्ययन गर्ने व्यवस्था पनि गरेका छाँै ।
मुलुक संघीय प्रणालीमा गइसकेपछि सिटिइभिटीले के–कस्तो व्यवस्था गरेको छ ?
हामीले केही समयभित्रै सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्दै छौँ । हाल रहेका हाम्रा क्षेत्रीय कार्यालय साथै नभएका स्थानमा नयाँ कार्यालय स्थापनाको तयारी हुँदै छ । ती कार्यलयबाट सम्बन्धन प्रदान गर्नेदेखि परीक्षा सञ्चालन गर्नेसम्मका कामहरु हुनेछन् ।
अर्को कुरा हामीले स्थानीय स्तरमा रहेका विभिन्न किसिमका सीप परीक्षण गरी यसको मान्यता पनि प्रदान गरिरहेका छौँ । यसबाट स्थानीय स्तरमा उपलब्ध सीपले फस्टाउने मौका पाउनेछ ।

Comment from facebook

Top