काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन सेना आफैले तयार पार्ने , २० करोड लाग्ने अनुमान

bikashnirman | माघ २, २०७४ - मङ्लबार


काठमाडौँ  । नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने  जनाएको छ  ।  सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिनुभएको हो । उक्त द्रुतमार्गको डिपिआर यसअघि भारतीय कम्पनीले तयार गरेको थियो । डिपिआर भारतीय पक्षसँग लिने कि नलिने भन्ने विषयमा विगतमा निकै छलफल र बहस भएको थियो । भारतीय पक्षसँग डिपिआरबारे सहमतिमा पुग्न समिति  गठन गरिएको थियो तर   भारतीय पक्षले डिपिआरको मूल्य ५६ करोडभन्दा बढी माग गरे पछि  दुई  पक्षबीच सहमति नजुटेपछि नेपाली सेना आफैँले  विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने निष्कर्षमा पुगेको खनालले बताउनु भयो  ।
“द्रुतमार्गका लागि यसअघि बनाइएको डिपिआरको रकमको माग अत्यधिक उच्च रहेकाले सेनाले आफैँ नयाँ बनाउने सोचका साथ हामी अघि बढेका छौँ ,आयोजना उपप्रमुख खनालले भन्नुभयो, ।   विस्तृत अध्ययन प्रतिवेदन बनाउनका लागि आफूसँग भएको जनशक्ति अपर्याप्त हुने भए पनि परामर्शदाता संस्था र विज्ञलाई लिएर निर्माण गरिने उहाँले जानकारी दिनुभयो । नेपाली सेनाले करिब रु २० करोडको हाराहारीमा नयाँ डिपिआर तयार हुने अनुमान गरेको छ ।
गत जेठ १० गते चार वर्षका अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शुरु भएको राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्गका निर्माण लागत रु एक खर्ब २० अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ ।
सडक विस्तारका लागि सडक छेउका भीरपाखाको कटान र पर्खाल लगाउने काम शुरु भइसकेको पनि सेनाले जनाएको छ । एशियाली मापदण्डअनुरुपको राजमार्ग निर्माण गर्नु आफँैमा चुनौती रहेको जनाउँदै सेनाले उक्त राजमार्ग निर्माण भएपछि १२० किमी प्रतिघण्टा यातायातका साधन गुड्न सक्ने जनाएको छ । सेनाले उक्त राजमार्गमा पर्ने ठूला र अग्ला पुल निर्माणका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनीलाई बोलपत्रमार्फत आह्वान गर्ने र अरु काम स्वदेशी निर्माण कम्पनी, स्थानीयवासी र सेनाले नै गर्ने जनाइएको छ ।

Comment from facebook

Top