काठमाडौं महानगरपालिकामा घरको नक्सापास अब अनलार्इनबाट

bikashnirman | मंसिर २९, २०७४ - शुक्रबार


काठमाडौं  ।  काठमाडौं महानगरपालिकाले अनलार्इनबाट घरको नक्सापास गर्ने व्यवस्थालार्इ कार्यान्वयनमा ल्याएको छ। महानगरको दिवसका अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख  विद्यासुन्दर शाक्यले अनलार्इनबाट घरको नक्सापास गर्ने कार्यको थालनी गर्नु भयो ।

अनलाईन नक्साको सुरुवात गर्दै महानगर प्रमुख शाक्य

प्रमुख शाक्यले  काठमाडौलार्इ स्मार्टसिटी बनाउन डिजिटल नक्सा प्रणालीको थालनी गरेको बताउनु भयो  ।  उहाँले  महानगरमा कार्यरत पाँच इन्जिनियरलार्इ अनलार्इनबाट घरको नक्सा पास गर्ने प्रणालीको पासवर्ड समेत प्रदान गर्नु  भयो । अहिले  डिजिटल नक्सा पास प्रणाली सुरु भएको र  आगामी वैशाखदेखि अनिवार्य डिजिटल नक्सा पास हुने कामपा ले जनाएको छ । हालसम्म महानगरले पुराना करिव १ लाख १३ हजार नक्सालार्इ डिजिटल गरिसकेको छ।

कस्तो  छ प्रक्रिया ?
निवेदकले सुरुमा महानगरपालिका गएर युजर आइडी लिनुपर्छ। निवेदकले महानगरपालिकाको अनलाइन साइट www.kmcebps.com मा गएर आफ्नो युजर आइडी मार्फत निवेदन बुझाउनुपर्छ । साइटबाट आफुले बनाउन चाहेको भवन अनुसार इबिपिएस फाराम डाउनलोड गर्नुपर्छ। घर तथा जग्गाको स्वामित्व, लालपुर्जा, नागरिकताको प्रमाणपत्र त्यही सार्इटमा अपलोड गर्नुपर्छ । डिजिटल नक्सापास गर्नका लागि घरधनीले इन्जिनियरलार्इ भेटेर घर कस्तो बनाउने त्यसको डिजार्इन तयार पार्नुपर्छ।लालपुर्जा,नागरिकता लगायतका आवश्यक कागजात स्क्यानिङ गरेर काठमाडौ महानगरपालिकाको वेवसार्इटमा जानुपर्छ।
सिस्टममा प्रत्येक निवेदनहरु अपडेट हुन्छन् । त्यसपछि सिस्टममा निवेदकले पेस गरेका डिजाइन, तथ्यांक तथा जानकारीहरु महानगरपालिकाको मापदण्ड अनुसारको भएको/नभएको जाँचबुझ गर्छ। यदि प्रकृया नपुगेमा या कुनै त्रुटी पाइएमा सिस्टमले निवेदन फिर्ता गर्छ । निवेदकले फेरि त्रुटी सच्याएर पठाउनसक्छन्। त्यसपछि कानुनी प्रकृया अनुसार २०/२५ दिनमा नक्सा पासको नतिजा अनलाइनबाट हेर्न सकिन्छ।

 

Comment from facebook

Top